सुशील कोइरालाका सल्लाहकार डा. पन्त माओवादी कोटामा राजदूत सिफारिस

सुशील कोइरालाका सल्लाहकार डा. पन्त माओवादी कोटामा राजदूत सिफारिस


काठमाण्डु – नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाका सामाजिक तथा विकास मामिला सल्लाहकार डा. विजन पन्त सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)को कोटामा राजदूत सिफारिस भएका छन् । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले माओवादीको सिफारिसमा डा. पन्तलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

गोरखाका स्थायी बासिन्दा कांग्रेस समर्थित डा. पन्त तत्कालिन कांग्रेस सभापति कोइराला २०७० सालमा भएको निर्वाचनपछि प्रधानमन्त्री बन्दा सामाजिक तथा विकास मामिला सल्लाहकार बनेका थिए । डा. पन्तलाई माओवादी कोटामा राजदूत सिफारिस गर्ने तयारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले गरेको थाहा पाएपछि माओवादीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । श्रेष्ठले डा. पन्तसँग पहिला बेलायतको पिआर रहेको र अहिले त्यागेको जानकारीमा आएकाले विवाद हुने भन्दै सम्झाउन खोजेका थिए ।

तर, श्रेष्ठले त्यति भन्न नपाउँदै प्रधानमन्त्री दाहाल र उनको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल दुवैजना श्रेष्ठसँग कड्किएको स्रोतले बतायो । प्रधानमन्त्री दाहालको परिवारसंग पन्तको निकट सम्बन्ध छ । दाहालका नातिनीहरु बेलायतमा अध्ययनरत हुंदा पन्तले सहयोग गरेको पन्त निकट स्रोतको दावी छ । पन्त युनिभर्सिटी अक्सफोर्डसंग आवद्ध छन् ।

अघिल्लो मन्त्रिपरिषद् बैठकबाट अघिल्लो गठबन्धन भएको बेलामा नियुक्त भएका ११ देशमा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको थियो । खाली ११ देशमै राजदूत नियुक्त गर्नु पर्ने भए पनि आजको मन्त्रिपरिषद् बैठकले ८ देशमा मात्रै राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।