भरूवा बन्दुकसहित २ जना पक्राउ

भरूवा बन्दुकसहित २ जना पक्राउ


काठमाण्डु – भरूवा बन्दुकसहित प्रहरीले पाल्पा र सल्यानबाट २ जनालाई पक्राउ गरेको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका–४ सत्यवती बस्ने ५१ वर्षीय कुल बहादुर कनौजेलाई एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने केप ११ वटा, छर्रा ६ वटा र बारूद करीब २० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

बाँदर लखेट्नका लागि बन्दुक लिई खेतमा जाने क्रममा अचानक लड्दा उनले बोकेको बन्दुक पड्किँदा बन्दुकको छर्रा लागेर उनीसँगै रहेका ४१ वर्षीय लेक बहादुर घर्ती समेत ३ जना व्यक्तिहरू घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले उनलाई हातहतियारसहित पक्राउ गरेको छ ।

घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगिएकोमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डुतर्फ पठाइएको छ ।

सल्यानको बागचौर नगरपालिका–७ सुइयाछेरी बस्ने ३५ वर्षीय शेर बहादुर वलीलाई भरूवा बन्दुक २ थानसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा बन्दुक फेला पारी पक्राउ गरेको छ ।

भरूवा बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।