पर्सा राष्ट्रिय निकुञ्जमा सुरक्षाकर्मी र शिकारीबीच दोहोरो झडप हुँदा १ जनाको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा सुरक्षाकर्मी र शिकारीबीच दोहोरो झडप हुँदा १ जनाको मृत्यु


काठमाण्डु – पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तु शिकार गर्ने र निकुञ्जका सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा १ जना शिकारीको मृत्यु भएको छ ।

शनिबार बिहान करीब ८ः१५ बजे निकुञ्ज कर्मचारी र नेपाली सेना सहितको टोली गस्तीको क्रममा वन्यजन्तु शिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको हो ।

झडपमा वन्यजन्तु शिकारी हेटौंडा उपमहानगर–१४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका शिकारीहरूमध्ये अन्य ४ जना भागेका ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहालले जानकारी दिए ।

शिकारीहरू भाग्ने क्रममा २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३०० ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका सामग्री बरामद गरिएको छ ।