काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को खेलमा अस्ट्रेलियामाथि अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै २१ रनको जित निकालेको हो ।
अफगानिस्तनका लागि रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले अर्धशतक बनाए । ४९ बल खेलेका गुरबाजले चार–चार चौका र छक्का प्रहार गर्दै ६० रन बनाए । अर्का ओपनर जाद्रानले ४८ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाएका हुन् । उसका लागि करिम जनातले १३ रन जोड्दा मोहम्मद नाबीले नटआउट १० रन बनाए । अफगानिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि प्याट कमिन्सले तीन विकेट लिँदा एडम जाम्पाले दुई विकेट हात पारेका थिए भने मार्कस स्टोइनिसले एक विकेट लिए ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । मिचेल मार्शले १२ रन बनाउँदा मार्कस स्टोइनिसले ११ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अस्ट्रेलियाविरुद्ध घातक बलिङ गरेका अफगानिस्तानका गुलबदिन नायबले चार विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले मात्र २० रन दिएर चार विकेट झारेका हुन् । नवीन उल हकले तीन विकेट हात पारे । उनले २० रन दिएर चार ओभर बलिङ गर्दा तीन विकेट हात पारेका हुन् । उसका लागि राशिद खान, अजमातुल्लाह उमरजाई र मोहमद नाभीले एक–एक विकेट हात पारे ।
अफगानिस्तानसँगको हारसँगै समूह १ को अस्ट्रेलिया दुई अंकमा सीमित भएको छ । दोस्रो खेलमा पहिलो जित निकालेको अफगानिस्तानलेसमेत दुई अंक जोडेको छ । रनरेटको आधारमा तालिकामा भने अस्ट्रेलिया दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् । समूह १ मा चार अंकसहित भारत शीर्ष स्थानमा छ भने बंगलादेश अंकबिहीन छ ।
अब अस्ट्रेलियाले सुपर–८ को अन्तिम खेल सोमबार भारतसँग खेल्दैछ । सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाले भारतलाई पराजित गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया