रुसको चर्चमा आक्रमण हुँदा २३ जनाको मृत्यु

रुसको चर्चमा आक्रमण हुँदा २३ जनाको मृत्यु


काठमाण्डु-रुसको उत्तरी ककेससस्थित दागिस्तानमा हतियारसहितका व्यक्तिले दुई चर्च, यहुदीको उपासनास्थल सिनेगंग र एक प्रहरी पोस्टमा आक्रमण गरेका छन् । हमलामा १५ प्रहरी, चर्चका एक पादरी र एक सुरक्षा गार्ड मारिएका छन् । ६ आक्रमणकारी पनि मारिएका बताइएको छ ।

रुसी प्रहरीले आक्रमणको जाँच सुरु गरेको छ । अरू आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ । हतियारधारी समूहले मखाचकाला र डर्बेट सहरलाई आफ्नो निसाना बनाएको थियो । उक्त क्षेत्रमा सदियौँदेखि चल्दै आएको पर्व मनाइँदै थियो । आक्रमणकारीको पहिचान हुन नसकेको जनाइएको छ ।

सामाजिक सञ्जालमा सेयर गरिएका केही तस्बिरमा देखिएअनुसार काला कपडामा आएका आक्रमणकारीले प्रहरीका कार र इमर्जेन्सी सर्भिसका गाडीमा हमला गरेका थिए ।

यहुदीको प्राचीन सहर डर्बेटमा आक्रमणकारीले पहिला एक यहुदीको उपासनास्थलमा गोली हानेका थिए । पछि त्यहाँ आगो पनि लगाएका थिए । दागिस्तान रुसको सबैभन्दा पिछडिएको इलाका हो । त्यो मुस्लिम बहुल क्षेत्र हो ।

सन् २०२३ अक्टोबरमा यहुदी यात्रीको खोजतलासका क्रममा स्थानीय विमानस्थलमा प्यालेस्टाइन समर्थकको भीड घुसेको थियो । २०२३ अक्टोबर ७ मा इजरायल र हमासबीच संघर्ष सुरु भएलगत्तै उक्त घटना भएको थियो ।