प्रदेश ३ ले विद्युतीय सवारीमा ३० करोड लगानी गर्ने, वैशाखबाटै सञ्चालन गर्ने लक्ष्य

प्रदेश ३ ले विद्युतीय सवारीमा ३० करोड लगानी गर्ने, वैशाखबाटै सञ्चालन गर्ने लक्ष्य


काठमाडौंं– प्रदेश ३ ले दिगो सार्वजनिक यातायात सञ्जाल विस्तार गर्न यसै बर्ष ३० करोड लगानी गर्ने भएको छ।

प्रदेशभित्रका १३ जिल्ला र अन्तर प्रदेश सवारी सञ्जाल विस्तार गरेर नागरिक आवागमन सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन आउँदो बैशाखबाटै यातायात सञ्चालनमा ल्याउने तयारी गरेको छ।

यसका लागि मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा मुख्य मन्त्री डोरमणि पौडेल, संघीय संसद सदस्य कृष्ण राई, प्रदेश सभा सदस्य दीपक निरौला, महानगरका प्रमुखसहितका पदाधिकारीसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेसँग बैठक बसेको हो।

सार्वजनिक यातायात सञ्चालनमा साझा यातायातले यस अघि स्थानीय सरकारसँग समन्वय गरेर काम गरेकोले विगत सिकाइ बुझ्न साझाका अधिकारीलाई बैठकमा सहभागी गराइएको हो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘सार्वजनिक निजी साझेदारितामार्फत सार्वजनिक यातायात सञ्चालन गर्ने मेरो लक्ष्य हो । इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गरेर वातावरणमा इन्धनजन्य सवारीबाट परेको असर कम गर्ने प्रदेशको नीति अनुरुप लगानी हुनेछ । यसका लागि आउँदो बैशाखबाट प्रदेश सरकारबाट सञ्चालित बिद्युतीय बसहरु चल्नेछन् ।’

मुख्यमन्त्री पौडेलका अनुसार त्यतिबेला सम्ममा प्रदेशको स्थायी राजधानी टुङ्गो लाग्यो भने त्यसैलाई केन्द्रमा राखेर तथा टुङ्गो लागेन भने काठमाडौंलाई केन्द्रमा राखेर यातायात सञ्चालन हुनेछ ।

नागरिकको जीवन पद्धतिलाई सहज बनाउन प्रदेश सरकार ठोस कार्यक्रमसहित अगाडि बढेको छ । बैठकमा बोल्दै प्रदेश सभा सदस्य दीपक निरौलाले, सार्वजनिक सवारी सञ्चालन गर्ने नीति कार्यान्वयनमा काम भइरहेको बताए।

काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात प्रणालीमा सुधार ल्याउन लगानी गरिसकेको छ । यसबाट प्रतिफलको लाभभन्दा नागरिकलाई सहज सेवाको अपेक्षा गरिएको छ, वैठकमा अभ्यास र अनुभव सुनाउँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — काठमाडौंको व्यवस्थापन सहजताका लागि प्रदेश र संघ सरकारसँग मिलेर महानगर लगानी गर्न तत्पर रहेको बताए। सहरभित्र ठूला सवारी साधन चलाएर अहिले काठमाडौंमा चलिरहेका साना सवारीलाई अन्य रुटमा लैजानुपर्ने महानगरले महसुस गरेको विषय हो, उनको भनाइ थियो ।

अहिले स्थानीय तहमा गरेको अभ्यासका आधारमा प्रदेश सरकारसँग हामी साझेदारिता गर्न तत्पर छौं । यसबाहेक अरु कुनै ढाँचा तयार पार्न पनि सकिन्छ, बैठकमा साझाका अध्यक्ष कनकमणि दीक्षितको प्रस्ताव थियो ।

साझा यातायातमा अहिले संघ सरकारको करीव २६ करोड, काठमाडौं महानगरको १५ करोड, ललितपुर महानगरको १ करोड रुपैयाँ तथा ललितपुरकै गोदावरी र महालक्ष्मी तथा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको शेयर छ । यसबाहेक अन्य विभिन्न व्यक्ति र संस्था पनि साझाका शेयर सदस्य हुन् ।