एसईईको नतिजा आजै आउने, कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा आजै आउने, कसरी हेर्ने नतिजा ?


काठमाण्डु-माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरिदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

कुनै प्राविधिक समस्या नआए आज अपराह्न नतिजा प्रकाशित गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

बोर्डले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गर्दैछ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

कसरी हेर्ने नतिजा

नेपाल टेलिकमले आईभीआर, एसएमएस वा वेबसाइटको माध्यमबाट नतिजा थाहा पाउन सकिने जानकारी दिएको छ ।

टेलिकमले बुधबार सूचना जारी गर्दै नेपाल टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसार गर्दा नतिजा प्राप्त हुने जनाएको छ ।

त्यसैगरी मोवाइल फोनबाट १६ सयमा सिम्बोल नम्बरसहित एसएमएस पठाएर पनि नतिजा थाहा पाइने छ । त्यस्तै नेपाल टेलिकमको वेवसाइटबाट मार्कसिटसहितको नतिजा पाप्त गर्न सकिने टेलिकमले जनाएको छ ।