काठमाण्डु-विश्वभरका एक सय १३ देशमा हालसम्म कुनैपनि महिलाले राज्य प्रमुख वा सरकार प्रमुख भएका छैनन् ।
महिला राजनीतिक नेतृहरूको युएन वुमन विश्वव्यापी तथ्याङ्क २०२४ अनुसार हालसम्म २६ देशमा मात्र महिलाले राष्ट्र प्रमुख वा राज्य प्रमुखको रुपमा काम गरेका छन् ।
प्रतिवेदनअनुसार विभिन्न प्रगतिका बावजुद महिलाहरू अझै पनि सत्ता र कूटनीतिक पदबाट ‘धेरै हदसम्म बहिष्कृत’ रहेको र प्रभाव तथा निर्णय लिने उच्चतम स्तरमा पुरुषहरूको कब्जा रहेको पाइएको छ ।
युएन वुमनले जारी गरेको प्रेस विज्ञप्तिमा विश्वव्यापी रूपमा निर्णय प्रक्रियामा महिलाहरूको कम प्रतिनिधित्व ‘कठोर वास्तविकता’ बनेको उल्लेख छ ।
सन् २०२४ जनवरी १ सम्म मन्त्री पदहरूमा २३ प्रतिशत मात्र महिला रहेका छन् र एक सय ४१ देशमा क्याबिनेट मन्त्रीहरूमा एक तिहाइभन्दा कम महिला रहेको पनि प्रतिवेदनमा उल्लेख छ । सात देशको मन्त्रिपरिषदमा कुनै पनि महिलाको प्रतिनिधित्व नै नरहेको पनि प्रतिवेदनमा भनिएको छ ।
कूटनीति र वैदेशिक मामिलामा पुरुषको प्रभुत्व राष्ट्रसङ्घका स्थायी नियोगहरूमा पनि फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘महिला अधिकारलाई अगाडि बढाउनका लागि विश्वको सबैभन्दा प्रगतिशील खाका, बेइजिङ घोषणापत्र र कार्यका लागि प्लेटफर्म पारित भएको ३० वर्ष पूरा भएको हामीले तयारी गरिरहेका छौँ । युएन वुमनले महिलाहरूको नेतृत्व गर्न र सकरात्मक परिवर्तनलाई अगाडि बढाउने कामलाई सुनिश्चित गर्न निरन्तर काम गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
सन् १९९५ मा बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनले बेइजिङ घोषणा र कार्यका लागि मञ्च अपनाएको थियो ।
प्रतिक्रिया