ग्लोबल आईएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै, सम्झौतामा हस्ताक्षर

ग्लोबल आईएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै, सम्झौतामा हस्ताक्षर


काठमाण्डु – ओपेक फण्डले ग्लोबल आईएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ ।

ऋण सम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले हस्ताक्षर गरे ।

ऋण लघु, साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरूद्वारा सञ्चालित व्यवसायको क्षमता अभिवृद्धि गर्न परिचालन गरिनेछ ।

लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कूल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरूले लगानीको ठूलो अभाव झेलिरहेका छन् ।

‘नेपालमा लघु, साना तथा मझौला व्यवसायहरू र जलवायु परिवर्तनका असर न्यूनीकरण सम्बन्धी परियोजनाहरूलाई सुदृढ बनाउन ग्लोबल आईएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यी क्षेत्रहरू दीगो आर्थिक वृद्धि र जलवायु परिर्वतनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्त्वपूर्ण छन् । हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवद्र्धन गर्नेछ,’ अल्खलिफाले भने ।

‘यो ऋण सम्झौताले दीगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्त्वपूर्ण सहयोग गर्नेछ । नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्नेछ,’ ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने ।

ऋण सहकार्यको लागि ओपेक फण्डलाई धन्यवाद व्यक्त गर्दै उनले सहकार्यले नेपालको अर्थतन्त्रका लागि महत््तवपूर्ण लघु, साना तथा मझौला उद्यमलाई सुदृढ गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

नेपाल जलवायु परिवर्तनका प्रभावहरूको उच्च जोखिममा छ । ओपेक फण्ड र नेपालको दीर्घकालीन साझेदारी दीगो विकासमा केन्द्रित छ । ओपेक फण्डले बैंकिङ, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रहरूमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।