धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा अर्थसचिवको फरक मत

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा अर्थसचिवको फरक मत


काठमाण्डु – धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप पेचिलो बनेको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्षको टुंगो लगाउन प्रयास गरेपनि सरकारमै रहेका दलहरुबीच स्वार्थ बाझिंदा नियुक्ति प्रक्रियामा समस्या भएको हो ।

धितोपत्रको अध्यक्ष टुंगाउन बुधबार बसेको बैठकमा समेत सिफारिस समितिभित्रै सदस्यहरुबीच राय बाझिएको हो । समितिमा राय बाझिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल गरेर बिहिवार बैठक बस्ने तयारी छ ।

धितोपत्र बोर्डका लागि सन्तोषनारायण श्रेष्ठ,मुक्ति श्रेष्ठ, कृष्णबहादुर कार्की,नवराज अधिकारी र चिरन्जीवी चापागांई गरी पांच जना छनौट भएका छन् । तर, तीन जनाको नाम सिफारिस गर्न अन्र्तवार्ताको लागि श्रेष्ठद्धय मात्र उपस्थित भएपछि थप अन्यौलता भएको हो ।

समितिले यसअघि अन्तवार्ताको लागि दुई जना मात्र उपस्थित भएपछि महान्यायाधीवक्ता कार्यालयको राय समेत मागेको थियो । महानायाधीवक्ता दिनमणी पोखरेलले दिएको रायमा समेत तीन जना वा पांच जना सिफारिस गर्नुपर्ने भन्ने स्पष्ट नभएपछि समितिमा थप समस्या भएको स्रोतले बतायो ।

बुधवार बसेको बैठकमा छनौट समितिका अध्यक्ष मीनबहादुर श्रेष्ठ,अर्थमन्त्रालय सचिव मधुकुमार मरासिनी र विज्ञ उदय निरौलाकै मत बाझिएको छ ।

बुधवारको बैठकमा श्रेष्ठ र निरौलाले पांच जनाकै नाम सिफारिस गर्न खोजेपनि अर्थसचिव मरासिनीले भने त्यसमा असहमति जनाएका छन् । बैठकमा उनले आफुले गैरकानुनी काममा हस्ताक्षर गर्न नसक्ने बरु अनुपस्थित हुने अडान लिएपछि बैठकले कुनै पनि निर्णय गर्न नसकेको स्रोतले बतायो ।

प्रधानमन्त्री दाहालले धितोपत्र बोर्डको अध्यक्ष चांडो टुंगोमा पुर्याउने प्रयास गरिरहेका छन् । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत साथ छ । दुवै नेताबीच धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठलाई ल्याउने सहमति भइसकेको छ ।

तर,अर्थमन्त्री वर्षमान पुनको भने यसमा फरक मत रहेको स्रोतले बतायो । धितोपत्र बोर्डको अध्यक्षको लागि व्यवसायी दीपक भट्ट र चन्द्र ढकाल समुहको प्रतिस्पर्धा छ । दुवै जनाले सत्तारुढ दलका नेताहरुलाई आफ्नो पक्षमा निर्णय गराउन लविङ गरिरहेका छन् । ढकालको पक्षमा अर्का व्यवसायी उपेन्द्र महतो समेत छन् ।