दक्षिण अफ्रिका पुग्यो टी-२० विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका पुग्यो टी-२० विश्वकपको फाइनलमा


काठमाण्डु-ऐतिहासिक सफलता प्राप्त गर्दै दक्षिण अफ्रिका जारी टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।

आज बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

वेस्ट इन्डिजस्थित ब्रायन लारा स्टेडियममा भएको सेमिफाइनल खेलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित ओभरको ८.५ ओभर खेल्दै एक विकेटको क्षतिमा पूरा गरेको हो । दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले २९ र एडेन मार्क्रमले २३ रन जोडे ।

दक्षिण अफ्रिका हालसम्म आईसिसी विश्वकपको एक दिवसीय र टी–२० को इतिहासमा फाइनल पुग्न सकेको थिएन । जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो । यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको दक्षिण अफ्रिका १० वर्षपछि अहिले सेमिफाइनलमा पुगेको हो ।

यसअघि दक्षिण अफ्रिकी ५ पटक (१९९२, १९९९, २००७ र २०२३) एक दिवसीयको सेमिफाइनलमा पुगेको र टी–२० विश्वकपमा (२००९ र २०१४) २ पटक सेमिफाइनलमा पुगेको भएपनि फाइनलमा पुग्नबाट चुकेको थियो । तर, यसपटक भने सुरुदेखि नै फर्ममा रहेको दक्षिण अफ्रिकी टीमले इतिहास रचेको छ ।

अब फाइनलमा पनि उपाधि जित्ने लक्ष्य राखेको छ। फाइनलमा उसको भेट भारत र इंग्ल्याण्डबीच हुने खेलको विजेतासँग हुनेछ ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोड्यो । यो विश्वकपको सेमिफाइनल इतिहासमा अहिलेसम्मकै कम योगफल हो ।

अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३/३ तथा कागिसो रबडा र एनरिच नोत्र्याले २/२ विकेट लिए ।

अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए ।