काठमाण्डु-काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई यस पटक पनि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको हो ।
गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । शिक्षा नियमावलीमा निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था छ ।
यस वर्ष पनि महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँले गर्न लागेको हो । यस वर्ष महानगरपालिकाको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार १५ गते (शनिबार) बिहान १० बजेदेखि असार २९ गते राति ११ः५९ बजेसम्म अनलाइन आवेदन दिन सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । परीक्षा भने आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।
विद्यालयगत छात्रवृत्तिको कोटा विवरण र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण पछि प्रकाशित गरिने महानगरपालिकाले जनाएको छ ।
छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षाको नतिजा प्रकाशित नभइ कलेजमा भर्ना नहुन पनि महानगरले अनुरोध गरेको छ ।
प्रतिक्रिया