स्वास्थ्य मन्त्रालयले बनायो औषधि उद्योगको अध्ययन गर्ने समिति

स्वास्थ्य मन्त्रालयले बनायो औषधि उद्योगको अध्ययन गर्ने समिति


काठमाण्डु – औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समिति गठन गरेको छ।

स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्नेछ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि समितिले स्थलगत अध्ययन गर्ने जानकारी दिए ।

स्वास्थ्यमन्त्री प्रदीप यादवले समितिलाई दुई साताभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्ने कार्यादेश दिएका छन् ।

समितिका सदस्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधि, फार्मेसी काउन्सिलका प्रतिनिधि, अनुगमन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अनुगमन हुने जिल्लाको औषधि व्यवस्था विभागको कार्यालय प्रमुख हुने समितिको गठनआदेशमा उल्लेख छ ।