बूढीगण्डकी जलविद्युतको काम अघि बढाउन माग गर्दै बाबुरामले सरकारलाई बुझाए मागपत्र

बूढीगण्डकी जलविद्युतको काम अघि बढाउन माग गर्दै बाबुरामले सरकारलाई बुझाए मागपत्र


काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।

भट्टराईले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुढीगण्डकीका सम्बन्धमा तीन बुँदे माग बुझाएका हुन् । मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ । त्यस्तै अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि मागपत्रमा उल्लेख छ ।

पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका डा. भट्टराईले प्रधानमन्त्री दाहाललाई बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको काम भदौ मसान्तभित्र सुरु गर्न सरकारलाई आग्रह गरेका थिए । काम सुरु नभए सशक्त आन्दोलन गर्ने जानकारी पनि प्रधानमन्त्री दाहाललाई टोलीले गराएको थियो ।

उनका अनुसार बुढीगण्डकी आयोजनामा सरकारको खर्च बढेको बढ्यै भए पनि प्रगती एकदमै न्यून छ । प्रधानमन्त्री दाहाललाई मागपत्र बुझाउनु अघि डा. भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए ।