काठमाण्डु – हिमाल पारिको जिल्ला मुस्ताङ प्राकृतिक,सांस्कृतिक,एवं पुरातात्विक हिसाबले भरिपूर्ण छ । स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइमा पर्छ ।
नेपालको मरुभूमि भनेर चिनिने मुस्ताङ विश्वभरका पर्यटकहरूका लागि आकर्षणको केन्द्र हो । म्याग्दीको भुरुङ तातोपानीबाट कालीगण्डकीको किनारै किनार लागेपछि मुस्ताङतिरको यात्रा अघि बढ्छ । पहाडहरू नजिकै देखिने गर्छन् ।
यसपटकको यात्रा विगतका यात्राको तुलनामा यात्रा अलि लामो र भिन्न रह्यो । कैलालीबाट जहाज चढेर काठमाडौं आइपुग्दा मन फुरुङग नै हुने भयो । तराईको उखरमाउलो गर्मीलाई उपत्यकाको शितलताले शरीररलाई केहि राहत भयो ।
म असार ८ गते काठमाडौं आइपुगें । १० गते ११ बजे काम सकेर हामी स्कारपियोमा २ बजे पोखरातिर लाग्यौं । जहाँ म, वसन्त दाइलगायत ४ जना अरु साथीहरू थिए । म पहिलो पटक पर्यटकीय नगरी पोखराको यात्रामा थिए । यात्राको क्रममा मनमा अनेकन कुराहरू खेलिरहेका थिए । कति बेला पोखरा पुगेर फेवा तालको एक फन्को लगाउला भन्ने मनमा कौतुहलता थियो । हामी राति ८ बजे लेकसाइड पुग्यौँ । हामीलाई सिमसिम पानीले स्वागत ग¥यो । पानी पर्न कम भएपछि राति नै कस्तो छ फेवा ताल भनेर हेरें ।
पछिल्लो दिन असार ११ गते पुम्दीकोटको शिवालय हुँदै स्तुपा, डेविड फल्स, गुप्तेश्वर महादेव, चमेरो गुफा, साराङकोट लगायत अन्य ठाउँमा घुमियो । त्यसै दिनको दिउँसो ४ बजेर २० मिनेटमा हाम्रो यात्रा पोखराबाट मुस्ताङको लागि तय भयो । बाटोको दृश्य हेर्दै हाम्रो यात्रा निरन्तर चलिरह्यो । तिब्बतबाट निस्किएर आएको कालीगण्डकी नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको दक्षिणतर्फ बगेको रहेछ । कालीगण्डकीको प्रवाह र त्यो दृश्यले मलाई रोमाञ्चित बनायो । हिमाली क्षेत्र चिसो हुनु स्वाभाविकै थियो ।
हिमाली बाटो ठूला–ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको रहेछ । अजङका ती पहाडहरू कुम्भकर्णझैँ चिरनिद्रामा छन् ।
कालीगण्डकीको किनारैकिनार मोटरबाटो । सीधै उत्तर । बीच–बीचमा सानातिना खोलाहरू कालीगण्डकीमा मिसिएको देख्न पाइन्थ्यो । दृश्यहरू अत्यन्तै लोभलाग्दा थिए । ठाउँ–ठाउँमा आकास साँघुरिएको देखिन्थ्यो।हिमाली बाटो ठूला–ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको रहेछ । अजङका ती पहाडहरू कुम्भकर्णझैँ चिरनिद्रामा छन् । अनन्त सौन्दर्य पस्किरहेका छन् । पहाडको छाती चिरेर निस्किएका झरनाले पीडाभन्दा आनन्द दिइरहेका छन् । त्यसका केही दृश्यहरू क्यामरा र मनमा कैद गर्दै हामी अघि बढ्यौँ ।
बीच बाटोमा रूप्से झरनाले हाम्रो यात्रालाई थप ऊर्जा दियो । झरनालाई छोडेर थोरै माथि पुग्दा त्यहाँ बगेको २ मिटर चौडाई र अत्यधिक गहिराइको कालीगण्डकी पनि सुतेर बगेको झरनाजस्तै लाग्थ्यो । नजिकै पुगेपछि हिमालको ढोकामै प्रवेश गरेजस्तो भान हुन थाल्यो । हिमालले आफैँ नजिक बनिदिएजस्तै गर्याे र थकित बनेका आँखामा निश्चल ऊर्जा भरिदियो ।
गफ गर्दै सुरू भएको यात्रा गाडीमा निदाउँदै मीठा गफ गर्दै गाडीको रफ्तारमा टुकुचे, मार्फा हुँदै राति १० बजे जोमसोममा गएर रोकियो । हाम्रो त्यहीँ बस्ने र भोलिपल्ट मुक्तिनाथ दर्शन गर्ने योजना बन्यो । वसन्त दाइले चिनेको हाेटेलमा खाना खायौँ । पैसा तिरेर खाना खाएपनि राम्रो आतिथ्यता पायौँ ।
असार १२ गते बिहान सबेरै यात्रा सुरू गरियो । नीलगिरि र धौलागिरि हाम्रो दक्षिणमा थिए । त्यहाँ धौलागिरि र नीलगिरि हिमालको सुन्दर दृश्य हामीले कुहिरोले गर्दा त्यति राम्रोसंग देख्न पाएनौँ । तै पनि देख्दा धौलागिरि दूधले धोएझैँ सेतो थियो भने नीलगिरि आकासझैँ निलो थियो । मनोरम दृष्य हेर्दै हामी मुक्तिनाथ पुग्यौँ ।
मुक्तिनाथ हाम्रो गन्तव्यको शिखर थियो । भगवान् नारायणको बासस्थान भएको ठाँउ थियो । त्यो सुन्दरताको वर्णन गरेर साध्य छैन, अत्यन्त सुन्दर । मन्दिर दर्शन गर्न धेरै भारतीय तीर्थालु आएका थिए । माथिसम्म जान नसक्नेहरूका लागि घोडा र स्ट्रेचरको सुविधा थियो । सिढीमा चड्दै गर्दा वसन्त दाइलाई लेक लागेर बेहोस हुनुभो । हामीले पानी पनि बोकेका थिएनौँ । म दौडेर पानी ल्याएर दिए । अलि केहि सन्चो भए जस्तो भयो । फेरी हामी माथितिर लाग्यौ । दाइका साथीहरूलाई माथि आउन अलि गाह्रो भएको थियो । उहाँहरू विस्तारै आराम गर्दै मन्दिरसम्म पुग्दा हामीले मन्दिरको दर्शन गरिसकेका थियौँ ।
मन्दिरअघि दुई वटा कुण्ड थिए । मन्दिर पछाडि १०८ धारा थिए । हामीले पनि दौडिएर नुहाएर त्यो कार्य पूरा गर्याैँ । कटक्क टाउको खाने चिसो रहेछ । त्यसपछि कुण्डमा डुबुल्की मारेर नुहाइयो । चिसोको पर्वाह नगरी मुक्तिधाम अगाडिको दुईवटा कुण्डमा डुबेर पैसा निकाल्ने प्रयत्न गर्याैँ । पूजाकार्य भक्ति र पे्रमभावले आआफ्नो मूल्य, मान्यता र स्वधर्मअनुसार सम्पन्न गरियो ।
त्यहाँ हामीले धेरै फोटो खिच्यौँ । पूजा सम्पन्न गर्ने बेलासम्म भोक धेरै लागेको थियो । मन्दिरबाट फर्केपछि अलि तल खाना खायौं ।
प्रकृतिको त्यो अनन्त स्वादपान गरेर हामीले भरपूर आनन्द अनुभूत गर्याैँ। झन्डै तीन हजार आठ सय मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिरको वर्णन गरेर नसकिने रहेछ । मुस्ताङ मानसिक थकान मार्ने एउटा प्रतीक्षालय रहेछ । मलाई अहिले पनि मुक्तिनाथधाम पुग्दा र त्यहाँ रहँदाका हरेक क्षणहरूको झ-झल्को छ ।
प्रतिक्रिया