कोहली चम्किँदा भारतले दियो दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य

कोहली चम्किँदा भारतले दियो दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य


काठमाण्डु- टी-२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । कोहलीले खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । सुरुवाती तीन विकेट सस्तैमा गएपछि उनले इनिङ सम्हाल्दै राम्रो इनिङ खेलेका थिए ।

इनिङको दोस्रो ओभरमा नै भारतले सुरुवाती दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमै बायाँ हाते स्पिनर केशव महाराजलाई दक्षिण अफ्रिकाले बलिङमा ल्याएको थियो । सो ओभरमा उनले भारतका उच्च लयमा रहेका कप्तान रोहित शर्मा र ऋषभ पन्तलाई पेभेलियन फर्काएका थिए । रोहितले ५ बलमा ९ रन बनाउँदा ऋषभ भने शून्यमा आउट भएका थिए ।

सुर्यकुमार यादव पाँचौं ओभरमा कागिसो रबाडाको शिकार बने । सर्ट बलमा उनी हेनरिक क्लासेनद्वारा ३ रन बनाएको अवस्थामा क्याच आउट भएका थिए । कोहली पाँचौं विकेटको रूपमा मार्को यानसनको शिकार बने ।

शिभम दुबे १६ बलमा २७ रन बनाएर अन्तिम ओभरको चौथो बलमा आउट भए । रवीन्द्र जडेजा पनि २ रन बनाएर इनिङको अन्तिम बलमा आउट भए । हार्दिक पन्ड्या ५ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ ओभरमा २३ रन खर्चिदै २ विकेट लिए । यस्तै एनरिक नोर्टजेले पनि ४ ओभरमा २६ रन दिएर २ विकेट नै लिए । १-१ विकेट मार्को यानसन र कागिसो रबाडानाममा रह्यो ।

चौथो विकेटका लागि विराट र अक्सर6पटेल मिलेर ७२ रनको साझेदारी गरे । सो साझेदारी अक्षर १४औं ओभरमा रनआउट हुँदा टुटेको थियो । अक्षर ३१ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन बनाएर क्विन्टन डीककद्वारा रनआउट भएका थिए ।

जारी विश्वकपमा यी दुई टोली मात्र अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन्। दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो । दक्षिण अफ्रिका आइसीसी प्रतियोगिताको पहिलो उपाधिका लागि चुनौती पेश गर्दैछ। भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ ।

सन् २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।