राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न प्रचण्ड कांग्रेसतिर धाउन थालेपछि कुरा बिग्रियो : एमाले

राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न प्रचण्ड कांग्रेसतिर धाउन थालेपछि कुरा बिग्रियो : एमाले


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न कांग्रेसतिर धाउन थालेपछि कुरा बिग्रिएको नेकपा एमालेले प्रस्ट पारेको छ ।

मंगलबार ललितपुरको च्यासलमा बसेको पार्टी सचिवालय बैठकपछि पत्रकारहरूसँगको सवाल–जवाफका क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डकै कारण २०८० फागुन २१ गते बनेको सत्ता गठबन्धन चाँडै भत्किने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘अहिलेको समीकरण र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एमालेको योजना र आर्किटेक्टमा बनेको हो । नेकपा एमालेको पहलमा यो सरकार र समीकरण बनेर हामीले समस्याबीच पनि बजेट पास गरेका थियौं । तर बजेट पास गरेपछि प्रधानमन्त्रीजी राष्ट्रिय सहमतिको सरकार भन्दै हिँड्न थाल्नुभएछ ।’

कांग्रेससँग नजिकिँदै प्रचण्डले १ हप्तादेखि सहमतिको सरकार बनाउने कुरा गरिरहेको उनको आरोप छ । ‘१ हप्तादेखि प्रधानमन्त्रीले नै राष्ट्रिय सरकारको प्रस्ताव कांग्रेससँग गरेको हामीले थाहा पायौं । उहाँलाई यसबारेमा पनि सोधेका थियौं । तर उहाँले त्यस्तो केही होइन, यस्तो कुरा हुँदै नभएको भनेर जवाफ दिनुभयो,’ उनले भने, ‘हामीलाई उहाँले यसको कुनै राजनीतिक अर्थ छैन भन्नुभयो । तर उहाँले कांग्रेससँग प्रस्ताव गरिसक्नुभएको रहेछ ।’

२०८० फागुन २१ गते र २०७९ पुस १० गते पनि एमालेकै योजनामा प्रचण्ड प्रधानमन्त्री बनेका उनले बताए । उनले भने, ‘हामीले अहिले पनि उहाँलाई सघायौं । हामीसँग सहकार्य भइरहेका बेला उहाँले राष्ट्रिय सहमतिको सरकारबारे गरेको प्रस्तावलाई कांग्रेसले स्वीकारेको थिएन ।’

उनले अब प्रचण्डसँग मार्गप्रशस्त गरिदिने विकल्प मात्रै रहेको बताए । ‘उहाँले संविधानतः मार्गप्रशस्त गरिदिने हो । किनभने उहाँले विश्वासमा जाँदा बहुमत ल्याउन सक्नुहुन्न,’ उनले भने, ‘कतिपय पुराना नजीर पनि छन्, त्यसैले प्रचण्डजीसँगको विकल्प भनेको उहाँले नयाँ सरकारको विकल्प खोलिदिने मात्रै हो ।’