एमालेसँगको सहमति कार्यान्वयनमा कांग्रेस दृढ, यी हुन् ४ निर्णयहरू

एमालेसँगको सहमति कार्यान्वयनमा कांग्रेस दृढ, यी हुन् ४ निर्णयहरू


काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा एमालेसँग राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा भएको सहमति कार्यान्वयनमा दृढता व्यक्त गरेको छ ।

बुधबार बसेको बैठकले एमालेसँग सत्ता समीकरण गर्ने सहमतिलाई अनुमोदन गर्दै विभिन्न ४ वटा निर्णय गरेको छ ।

असार १७ गते एमालेसँग भएको राष्ट्रिय सहमतिको सरकार गठनको सहमतिलाई बैठकले स्वागत गरेको छ ।

बैठकले २ दल मिलेर सुशासन, स्थायित्व दिने, संविधान शंसोधन गर्नका लागि पहिलोपटक एमाले अध्यक्ष केपी ओलीले गर्ने र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने र सहमति कार्यान्वयनमा दृढ रहेको जनाएको छ ।

बैठकले मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गर्ने र भ्रातृ संस्थाको महाधिवेशन गर्न बनेको निर्देशक समिति गठन निर्णयलाई पनि अनुमोदन गरेको छ ।

यी हुन् ४ निर्णयहरू

(१) नेपाली कांग्रेस र नेकपा एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ ।

(२) नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ ।

(३) नेपाली कांग्रेस र नेकपा एमालेबीच नेपालको संविधानको धारा ७६९२० बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ ।

(४) महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्ने; नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी दिइएको कार्यादेश, संघका तदर्थ कार्यसमितिहरूको समयावधि लगायतका विषयमा असार १७, २०८१ मा गरिएको निर्णयलाई यो बैठक पारित गर्दछ ।