काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिन र कुनै पनि दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै संसद्का २ ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएकाले वर्तमान सरकार अल्पमतमा परेको स्मरण गराएका छन् ।
‘वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ,’ विज्ञप्तिमा उल्लेख छ ।
संसद्का २ ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको एमालेले स्पष्ट पारेको छ ।
अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन एमालेले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको छ ।
एमालेले माओवादीलाई राष्ट्रिय सहमतिको सरकारमा आउन पनि औपचारिक रूपमा आह्वान गरेको छ । ‘राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।
प्रतिक्रिया