विपद् व्यवस्थापन र पूर्व तयारीमा गम्भीर भएर काम गरौं : प्रधानमन्त्री प्रचण्ड

विपद् व्यवस्थापन र पूर्व तयारीमा गम्भीर भएर काम गरौं : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्य सम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले ३ वटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्व तयारीको व्यवस्थित काम गर्न निर्देशन दिए ।

उनले भने, ‘राजनीतिमा उतारचढाव भइरहन्छ । तर सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन । नेपाल यसै पनि विपद्का दृष्टिले उच्च जोखिमयुक्त देश हो । त्यसमाथि यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ । त्यसैले व्यवस्थित पूर्व तयारी गरौं । विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ तर कार्यविधिको झन्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं । राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्व तयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौं ।’

छलफलमा गृह मन्त्रालय र नेपाली सेनाको तर्फबाट गरिएको पूर्व तयारीका लागि आभार प्रकट गरे । छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद् व्यवस्थापनको पूर्व तयारी र जोखिम पूर्वकार्य सम्बन्धी आफ्नो तर्फबाट गरिएको तयारीबारे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरिएको थियो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, प्रधानसेनापति प्रभुराम शर्मा, निमित्त मुख्यसचिव लिलादेवी गड्तौला, गृहसचिव एकनारायण अर्याल, रक्षासचिव किरणराज शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लगायतका अधिकारीहरूको सहभागिता थियो ।