निर्मला हत्याकाण्डका अपराधीहरु छिट्टै कानूनको कठघरामा आउँछन् : गृहमन्त्री थापा

निर्मला हत्याकाण्डका अपराधीहरु छिट्टै कानूनको कठघरामा आउँछन् : गृहमन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्।

बिहीबार देउसीभैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने,‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ । भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तिव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’

गृहमन्त्री थापाले सरकारले बलात्कारीहरुलाई पनि कारबाही गरिरहेको बताए । उनले भने,‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्ती करणी गर्ने, बलात्कार गर्नेहरु, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ । जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानुनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानुनको कठघरामा छिट्टै आउँछन् ।’

सिण्डिकेट अन्त्य भएन ?, कालोबजारीहरुलई कारबाही भएन ? महँगी ह्वात्तै बढेको छ नि भनेर सोधेको प्रश्नमा उनले भने,‘सिण्डिेकट अन्त्य भैसकेको छ । अब त्यसलाई व्यवस्थापन गर्ने काम बाँकी छ । र, त्यो चलिरहेको छ । अब छिट्टै यातायातमा भएको बेथिति, अराजकतालाई व्यवस्थित गरिनेछ । सिण्डिकेट कानुनतः अन्त्य भैसकेको छ । अब चाहीँ फेरी कसैले यातायातको क्षेत्रमा सिण्डिकेट लाद्न सक्दैन् ।’

मुलुकमा सुशासन कायम गर्न र जनताको जनधन दुवैको सुरक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेकोले उल्लेख गर्दै सरकारले सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको मन्त्री थापाको भनाई छ । उनले भने,‘हामी त्यो काममा दृढतापूर्वक लागिरहेका छौं । म सम्पूर्ण लगानीकर्ताहरुलाई देशलाई समृद्ध गर्नमा उहाँहरुको भूमिका अझै वृद्धि होस् । र, उहाँहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी सुरक्षाको प्रत्याभुति गर्छौं भनेर भरोशा दिलाउन चाहन्छु ।’