कांग्रेसमा तयार भयो मन्त्री बन्नेहरूको प्रारम्भिक सूची

कांग्रेसमा तयार भयो मन्त्री बन्नेहरूको प्रारम्भिक सूची


काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेबीच १७ असारको राति संविधान संशोधनसहित सत्तासहकार्य गर्ने सहमति भएपछि एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओलीबीच भएको सार्वजनिक नगरिएको ७ बुँदे सहमतिमा संघीय संसद्को बाँकी रहेको कार्यकालमा आधा–आधा समय कांग्रेस र एमालेले सरकारको नेतृत्व गर्ने उल्लेख छ । पहिला एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने तथा एमालेबाट ९ र कांग्रेसबाट १० मन्त्री बनाउने सहमति पनि नेताहरूबीच छ ।

पार्टीले पाउने मन्त्रालयमा मन्त्री बन्न कांग्रेस नेतृत्वले सांसदहरूको सूची तय गरेको छ । सरकार मै जाने निश्चित नभए पनि प्रारम्भिक सूची बनिसकेको नेताहरू बताउँछन् ।

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जान कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र महामन्त्री गगन थापाको नाम चर्चामा छ । सिटौला राष्ट्रिय सभा सदस्य, सिंह काठमाण्डु एकबाट र थापा काठमाण्डु ४ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । सिटौला र सिंह यसअघि उपप्रधानमन्त्री र पटक–पटक मन्त्री बनेका व्यक्ति हुन् । थापा भने यसअघि एक पटक स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थिए ।

ओलीले यसपटक उपप्रधानमन्त्री नराख्ने सोचमा रहेको निकटस्थहररूलाई बताएका छन् । देउवा भने नेतृत्व गरेर सिनियर नेतालाई पठाउन पर्ने भएकाले उपप्रधानमन्त्री राख्नु पर्ने सुझाएको बताइन्छ ।

त्यस्तै पार्टीका तीन सहमहामन्त्री पनि मन्त्रीका लागि प्रारम्भिक सूचीमा परेका छन् । सहमहामन्त्रीहरू बद्री पाण्डे, जीबन परियार र किशोरसिंह राठौर मन्त्री बन्ने सूचीमा परेका हुन् । पाण्डे बाजुराबाट र राठौर बाँके क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार प्रतिनिधि सभाकै समानुपातिक तर्फका सांसद् हुन् । तीनै जना अहिलेसम्म मन्त्री भएका छैनन् । स्रोतका अनुसार प्रदीप पौडेल, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासीया सरिता प्रसाई, तेजुलाल चौधरी र उद्योगी विनोद चौधरी मन्त्री बन्नेहरूको सूचीमा अटाएका छन् ।

यीमध्य प्रसाई र राणा देउवा प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसद हुन् । प्रसाई एक पटक कृषि राज्यमन्त्री बनेकी थिइन् भने राणा देउवा मन्त्री बनेकी छैनन् ।

पौडेल काठमाण्डु ५ बाट, लेखक कञ्चनपुर ३ बाट, चौरासीया पर्सा २ बाट तेजुलाल सप्तरी ४ बाट र विनोद नवलपुर पश्चिम एकबाट प्रतिनिधिसभामा प्रत्यक्ष जितेका सांसद हुन् । लेखक र चौरासीया यसअघि मन्त्री बनेका छन् भने अरु मन्त्री बन्ने मौका पाएका छैनन् ।

प्रारम्भिक सूचीमा परेका र पार्टीको नेतृत्व गरेर जाने चर्चा रहेकाहरूमध्य सिटौला र सिंह संस्थापन पक्षका र थापा नेता डा. शेखर कोइराला पक्षका हुन् । ती बाहेक लेखक, राणा देउवा, चौरासीया, राठौर विनोद चौधरी संस्थापन पक्षका हुन भने पाण्डे, परियार, प्रसाई र तेजुलाल नेता डा.कोइराला समूहका हुन् ।

यीबाहेक राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट मन्त्रीमा पर्न राष्ट्रिय सभा सदस्य कमला पन्त पनि लागिरहेकी छन् । नेता डा. शशांक कोइरालाले सकभर आफै पार्टीका तर्फबाट नेतृत्व गर्ने नभए आफ्नो तर्फबाट दीपक गिरी वा दीपक खड्कालाई मन्त्री बनाउने भनेर लागिरहेका छन् । मेडिकल व्यवसायी सुनिल शर्मा र राजेन्द्र बजगाई डा. शेखर कोइरालाको कोटामा मन्त्री बन्नका लागि शक्तिकेन्द्र धाइरहेको स्रोत बताउँछ ।

तर, कांग्रेस सभापति देउवानिकट स्रोत भने मन्त्रालय भागबण्डा भएपछि आफ्नो भागमा पर्ने मन्त्रालयमा कुन सांसद उपयुक्त हुन्छ, त्यसैलाई सिफारिस गर्ने सोचमा देउवा रहेको बताउँछ । सकभर देउवाले नयाँ र प्रत्यक्ष निर्वाचित सांसदलाई यसपटक मौका दिने निकटस्थहरूसँग बताइरहेका पनि स्रोतले बतायो ।