आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना,सचेत रहन आग्रह

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना,सचेत रहन आग्रह


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।

मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ।सबै प्रदेशका धेरै स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–ुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेको महाशाखाले जनाएको छ।

यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन समेत आग्रह गरेको छ।