प्रकाशकीय : उत्साहजनक आठौं वर्षमा काठमाण्डुपाटी

प्रकाशकीय : उत्साहजनक आठौं वर्षमा काठमाण्डुपाटी


हाम्रो लगनशीलता र पाठकको मायाले काठमाण्डुपाटी डट्कम आठौं वर्ष प्रवेश गरेको छ । काठमाण्डुपाटीको उकालो यात्रामा पाठकवृन्दको माया, स्नेह र समर्थन पनि बढ्दै गएको छ । २०७४ असार २२ गते सुरक्षा र कूटनीतिक क्षेत्रको पहिलो अनलाइनका रूपमा नेपालमा काठमाण्डुपाटी डट्कमले यात्रा थाल्दा नविन सम्भावना र चुनौती थिए । तिनै चुनौतीलाई चिरेर अनेक सम्भावनालाई सँगाल्दै काठमाण्डुपाटी अथक यात्रामा लम्किँदै गएको छ ।

आरबी मिडिया प्रालिद्वारा प्रकाशित काठमाण्डुपाटी आजबाट ७ वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गरेको छ । ७ वर्षे भोगाइले काठमाण्डुपाटीमा उत्साह थपिएको महसूस भएको छ । यसबीच हामीले नयाँ क्षेत्रमा पाइला टेक्दाको चुनौती मोल्ने अभ्यासबाट नयाँ सम्भावना पहिल्याउने प्रयास गरेका छौं ।

काठमाण्डुपाटी डटकम पहिलो वर्ष सुरक्षा र कूटनीतिसँग सम्बन्धित समाचार र विचारलाई महत्व दिने गरी स्थापना भए पनि दोस्रो वर्षदेखि हामीले दायरा फराकिलो बनाउँदैं देशको अग्रणी अनलाइन पोर्टलका रूपमा स्थापित गर्ने र सबै क्षेत्रलाई समेटने प्रतिबद्धताअनुसार काम अगाडि बढ्यौं ।

पछिल्लो समय इन्टरनेट सेवाको विस्तार र सहज पहुँचका कारण भ्रम फैलिने मात्रा बढेकाले सञ्चारमाध्यमको विश्वसनीयतामा प्रश्न उठिरहेको सन्दर्भमा काठमाण्डुपाटीले विश्वसनीयतालाई कायमै राख्दै समाचार पस्किरहेको छ । पाठकले भित्री सूचनाहरू छिटो चाहिरहेको यथार्थलाई काठमाण्डुपाटीले पूरा गर्ने प्रयास गर्दै आएको छ ।

राजनीतिक, सामाजिक र प्रशासनिक विसंगतिहरूलाई उजागर गर्दै निरन्तर निगरानी र पर्दाफास गरेर सुधारका लागि दबाब सिर्जना गर्ने दायित्व काठमाण्डुपाटीले निर्वाह गर्दै आएको छ । राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, सुरक्षा, कूटनीतिक लगायतका क्षेत्रको गहिरो चिरफार र सकारात्मक तथा नकारात्मक पक्षहरूलाई उजागर गर्ने हाम्रो अभियान अझ चुस्त, सशक्त र प्रभावकारी हुने विश्वास छ ।

काठमाण्डुपाटीलाई थप विश्वसनीय, भरपर्दो र प्रभावकारी सञ्चारमाध्यम बनाउने हाम्रो अठोट छ । काठमाण्डुपाटी टीम गल्ती र कमजोरीबाट शिक्षा लिन र त्यसलाई सच्याएर अघि बढ्न हमेशा तयार छ । समाजको बदलिँदो आकांक्षाअनुसार काठमाण्डुपाटी आफ्ना सामग्रीहरूलाई परिस्कृत गर्दै निरन्तर नयाँ दिन सजग छ । काठमाण्डुपाटीलाई अझ व्यावसायिक र जिम्मेवार बनाउने प्रयास तथ्यपरक पत्रकारिताको कसीबाट अगाडि बढ्दा पूरा हुनेछ ।

विगत ७ वर्षमा काठमाण्डुपाटीलाई अन्य अनलाइनभन्दा भिन्न र फरक बनाउने कोसिस गरेका छौं । त्यही कोसिसको परिणाम नै मान्नुपर्छ, पछिल्ला ७ वर्षमा हामीले पाठकको उत्साहप्रद सहभागिता र माया पाएका छौं । जसबाट हामीलाई अझ दृढतापूर्वक सूचना कर्ममा डट्ने ऊर्जा प्राप्त भएको छ । हामीलाई थुप्रै कोणबाट सुझाव, सल्लाह र प्रतिक्रियाहरू प्राप्त भइरहेका छन्, जसप्रति हामी सदैव आभारी छौं ।

आगामी वर्षहरूमा काठमाण्डुपाटीलाई थप सशक्त बनाउने र फैलिने प्रयासमा हामी हुनेछौं । ७ वर्षको उत्साहपूर्ण साथ, सहयोगका लागि पाठक, दर्शक, स्रोता, विज्ञापनदातालाई विशेष धन्यवाद दिन चाहन्छौं । तपाईंहरूका सल्लाह, सुझावलाई शिरोपर गर्दै हामीले पस्किने विषयवस्तुमा थप निखारता ल्याउने प्रण गर्दछौं । हाम्रा सहकर्मीहरूको साझा प्रयास यसैतर्फ केन्द्रित छ । अन्त्यमा काठमाण्डुपाटीको सातौं वार्षिकोत्सवको अवसरमा सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।

रोशन खड्का
(अध्यक्ष)
काठमाण्डुपाटी डटकम