दुईपक्षीय सम्बन्ध अझैँ घनिष्ट बनाउन बनाउन चीन भ्रमण कोशेढुङ्गा हुनेछ : उपमहासचिव रिमाल

दुईपक्षीय सम्बन्ध अझैँ घनिष्ट बनाउन बनाउन चीन भ्रमण कोशेढुङ्गा हुनेछ : उपमहासचिव रिमाल


काठमाण्डु- नेकपा (एमाले)का उपमहासचिव बिष्णु रिमालको नेतृत्वमा चीन भ्रमणमा रहेको उच्चस्तरीय टोली र चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका उपसचिव शी युगाङबीच आज कुन्मिङमा भेटवार्ता भएको छ ।

सो अवसरमा दुई देश बीचको सम्बन्ध, सहकार्य, दुई पार्टी बीचको सम्बन्ध लगायतका विषयमा छफफल भएको हो । भेटमा उपमहासचिव रिमालले दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ घनिष्ट बनाउन भ्रमण कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे ।

उनले नेकपा एमालेलाई चीन भ्रमणका लागि निमन्त्रणा गरी यहाँको विकास, गरिबी उन्मूलन र जनताको जीवनस्तर सुधारका लागि गरिएका प्रयासका बारेमा जानकारी हासिल गर्ने अवसर उपलब्ध गराएकोमा सिपिसी, अन्तर्राष्ट्रिय विभाग र न्यानो आतिथ्यताका लागि स्थानीय पार्टी कमिटीहरूलाई धन्यवाद दिए । उपमहासचिव रिमालले भ्रमण अत्यन्त सफल भएको बताएका छन् । त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय नेता शीले चीनको गरिबी उन्मूलन कसरी सम्भव भयो र चीन सरकारले विकासका कार्यक्रम कसरी अगाडि बढाइरहेको छ भन्नेमा प्रकाश पारेका थिए ।

यसैबीच, उपमहासचिव रिमाल नेतृत्वको टोलीले युनान प्रान्तका विभिन्न ठाउँको अवलोकन भ्रमण गरेको छ । टोलीले बिहीबार युनान प्रान्तको केइ गाउँको भ्रमण गरेको थियो ।

जुन गाउँ १९३० फिटको उचाइमा करिब दुई हजार बर्षदेखि अवस्थित छ र जुन बस्तीलाई ८० प्रतिशत जङ्गलले ढाकेको छ । ‘यि’ समुदायको बसोवास रहेको यो सुन्दर गाउँले आधुनिक चीनमा पनि आफ्नो परम्परा, संस्कार र संस्कृतिलाई जीवन्त राखेको छ ।

त्यसैगरी टोलीले बुधबार नमूना व्यवसाय गरेर सफलताको शिखर चुमेका चीनका उदाहरणीय क्षेत्रको अवलोकन गरेको छ । त्यस्तै टोलीले कुनै बेला मरूभूमिको नामले चिनिने अहिलेको ‘मेल ताइपिङ्घु फरेस्ट टाउन’ क्षेत्रको पनि भ्रमण गरेको छ । यो क्षेत्र पुनःनिर्माणपछि बर्सेनि चार लाख पचास हजार पर्यटकलाई स्वागत गर्ने अनुपम पर्यटन क्षेत्रमा रूपान्तरण भएको छ ।

उपमहासचिव रिमालको नेतृत्वमा रहेको २९ सदस्यीय एमालेको भ्रमण टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला अध्यक्षहरू लगायत सहभागी छन् । टोली दश दिने भ्रमण पुरा गरी शनिबार स्वदेश फर्कंदै छ ।