काठमाण्डु – नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र एमाले मिलेर बनेको नयाँ गठबन्धन तोड्न उपाय खोजिरहेका छन् ।
सरकार छाड्ने निर्णय गरेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रीहरूको राजीनामा रोक्न सफल भएका प्रचण्डले नेपाली कांग्रेसमा संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेर गठबन्धन तोड्न सहयोग मागेका छन् ।
शनिबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले एमाले–कांग्रेसको सहमतिअनुसार सरकार बन्न नदिई संविधानको धारा ७६(३) बमोजिम सरकार बनाउन कोइरालासँग प्रस्ताव गरेका जनाइएको छ ।
कांग्रेस र एमालेबीच संविधानको धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । प्रचण्डले नेकपा एमालेसँग सत्ता सहकार्य गर्नु त्यति उचित नहुने भन्दै कांग्रेस नेतृत्वमै सरकार बनाउन डा. कोइरालासँग सहयोग मागेका छन् ।
प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘संविधानको धारा ७६(३) बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार बनाउन तपाईंको सहयोग चाहियो । एमालेसँग सहकार्य गरेर केही हुनेवाला छैन ।’
जवाफमा नेता कोइरालाले अब धेरै ढिला भइसकेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रचण्डलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया