जिम्बाब्वेमाथि भारत १०० रनले विजयी

जिम्बाब्वेमाथि भारत १०० रनले विजयी


काठमाण्डु-  पाँच टी-२० खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोलीले दोस्रो खेलमा जित हात पारेको छ । जिम्बाब्वेकाे हरारेमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १०० रनको जित हात पर्दै शृंखलामा बराबरी गरेको हो ।

भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.२ ओभरमा १३४ रनमा समेटियो । घरेलु टोलीका लागि वेस्ली मधुभेरेले ३९ बलमा सर्वाधिक ४३ रन जोडे । लुक जोङवेले ३३ तथा ब्रायन बेनेटले २६ रन बनाए ।

भारतका लागि मुकेश कुमार र आभेश खानले समान ३-३ विकेट लिए । रवि विश्नोइले २ तथा वाशिंटन सुन्दरले १ विकेट लिए । त्यसअघि टस ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट मात्र गुमाएर २३४ रनको विशाल योगफल जोडेको थियो । भारतका लागि अभिषेक शर्माले ४७ बलमा ७ चौका र ८ छक्का सहित १०० रन पूरा गरे ।

रुतुराज गाइक्वाडले ४७ बलमा ११ चौका र १ छक्का सहित ७७ रन बनाएर अविजित रहे । रिंकु सिंह २२ बलमा ४८ रनमा अविजित रहे । शुभमन गिल १ रनमा आउट भएका थिए ।