अफलाइन राइडिङमा दुर्घटना भएपछि भागेका चालकहरू पक्राउ

अफलाइन राइडिङमा दुर्घटना भएपछि भागेका चालकहरू पक्राउ


काठमाण्डु – असार १५ गते काठमाण्डु महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि भागेका राइडरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरूङ तीन जना साथीहरूसहित गोंगबुबाट ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी थिइन्।

तेज रावलसहित तीन जनाले अफलाइन राइड गरी अनु र उनका साथीहरूलाई लैजादै थिए। जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेको काठमाण्डु प्रहरी परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सिबिएट मोटरसाइकलले ठक्कर दिँदा अनुको टाउकोमा गम्भीर चोट लागेको थियो। उनको उपचारका क्रममा ट्रमा सेन्टरमा असार १८ गते मृत्यु भएको थियो।

दुर्घटना भएपछि घटनास्थलबाट फरार भएका अफलाइन राइडरहरूलाई प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त अपरेसन गरी पक्राउ गरेको हो ।

प्रहरीले उनीहरू तीनै जनामाथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको बताएको छ।