काठमाण्डु – प्रतिनिधि सभाका सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्यको सहमति हुँदा कांग्रेसभित्र असन्तुष्टि बढेको छ । मुख्यगरी कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबीचको सम्बन्ध बिग्रिएको नेताहरू बताउँछन् ।
यसअघि एमालेसँग माओवादीले गरेको गठबन्धन भत्काएर नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेससँग ल्याउन उपसभापति खड्काले मुख्य भूमिका खेलेका थिए । आफ्नो नेतृत्वमा माओवादीसँग गठबन्धन गर्न सफल भएका खड्कालाई उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बनाउँदै सरकारमा देउवाले पार्टीको तर्फबाट नेतृत्व गरेर पठाएका थिए । तर, गत फागुन १९ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन त्यागेर पुनः एमालेसँग गठबन्धन बनाए ।
त्यसबेला अर्को पार्टीसँग प्रधानमन्त्रीले गठबन्धन गर्दा सुइकोसमेत नपाएको भनेर खड्काको आलोचना पार्टीभित्र भएको थियो । त्यतिमात्र होइन, कांग्रेसमा देउवा टिमका नेता निवर्तमान गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले नियन्त्रणमा लिँदैछ भन्ने सूचनासमेत नपाएको भन्दै पार्टीमा खड्काले आलोचना खेपेका थिए ।
ती आलोचनाबीच पुनः दाहाललाई कांग्रेससँग गठबन्धन गर्ने बनाउन भन्दै माओवादी नेताहरूसँग अनौपचारिक वार्तामा रहेका खड्काले सभापति देउवालाई एमालेसँग गठबन्धन तोड्न माओवादी सकारात्मक भएको जानकारी गराए ।
असार १६ गते खड्काले त्यो माओवादीसँग आफूले वार्ता गरेर सहमतिउन्मुख भएको विषय देउवालाई सुनाउँदा देउवाले एमालेसँग सत्तासहकार्यको सहमति गरिसकेका थिए । लिखित बनाएर हस्ताक्षर गर्न मात्रै बाँकी थियो । त्यस्तो बेलामा खड्काले अर्कै विषय सुनाएपछि देउवाले आफूले सिधै ओलीसँग संवाद गरिरहेका बेला प्रचण्डसँग कसलाई सोधेर वार्ता गरेको भन्दै हकारेको देउवा निकट एक नेताले बताए । देउवाले कसलाई सोधेर आशंका उब्जिनेगरी प्रचण्डलाई भेट्न गएको भन्दै गाली गरेपछि उनीहरूबीचमा सम्बन्ध औपचारिक बाहेक नरहेको निकटस्थ स्रोतले बतायो ।
लामो समय देउवाको निकट रहेर काम गरेका खड्का देउवाकै जोडबलमा मनोनित सहमहामन्त्री, महामन्त्री बनेका थिए । १४ औँ महाधिवेशनमा पनि देउवाकै टिमबाट उम्मेदवार बनेर उपसभापतिमा निर्वाचित भएका थिए । उपसभापति भएपछि पनि देउवाको ‘राइट ह्याण्ड’ भएर काम गरेका खड्कालाई यो पटकको सत्ता समिकरण निर्माणमा कतै देउवाले आफैसँग उपस्थित गराएका छैनन् ।
१८ असारमा कांग्रेस केन्द्रीय कार्यालयमा कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा राखिएको फोटो प्रदर्शनीमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्माओलीलाई पाहुनाका रूपमा निम्त्याइएको थियो । त्यसको अघिल्लो राति कांग्रेस एमालेबीच सत्तासमिकरण बनाउने ७ बुँदे सहमति बनिसकेको थियो । तस्बिर प्रदशनी अवलोकनका लागि पुगेका ओलीसँग वार्ता गर्दा पनि देउवाले खड्कालाई बाइपास गरेका थिए ।
देउवा आफू कोठामा बसेको बेलामा उनको कोठामा उपसभापतिद्वय खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा थिए । ओली पस्नुपूर्व देउवाले आफ्नो महामन्त्री थापासँग वार्ता रहेको भन्दै कोठाबाट बाहिर निस्कन खड्का, गुरुङ र शर्मालाई निर्देशन दिएका थिए । थापा र देउवा रहेको बेलामा ओली कोठमा छिरेर दुई नेताबीच वार्ता भएको थियो । देउवाले यति महत्वपूर्ण भेटमा खड्कालाई अविश्वास गर्नुले उनीहरूबीच दूरी निकै बढेको देखाउने कांग्रेस नेताहरू बताउँछन् ।
देउवाको उत्तराधिकारी भएर पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आशा राखेका खड्का पछिल्ला दुई घटनाक्रमले झस्किएका छन् । पार्टीको १४औँ महाधिवेशनसम्म देउवाका अति निकट विमलेन्द्र निधि टाढिएपछि खड्का देउवाका अति निकट भएका थिए । संसद् विघटनपछि देउवा प्रधानमन्त्री बनेपछि खड्काले नजिक रहेर सहयोग मात्रै गरेनन्, १४औँ महाधिवेशनमा पनि साथ दिए ।
तर, २०७९ को आमचुनावपछि कांग्रेस र माओवादीबीचको गठबन्धन भत्किँदा देउवा निकटका नेता भनेर चिनिने उपसभापति खड्का र प्रवक्ता डा.प्रकाशशरण महतबीच झण्डै कुटाकुटको अवस्था आएको थियो । माओवादीसँगको गठबन्धन भत्किनुमा खड्का र महतको भूमिका रहेको अन्य नेताहरूले आरोप लगाएका थिए ।
खड्काकै पहलमा माओवादी कांग्रेससंग गठबन्धनमा आएपछि देउवा र खड्काबीचको अविश्वास विस्तारै सुधारतर्फ अघि बढे पनि अहिले फेरि अविश्वास उत्कर्षमा पुगेको नेताहरू बताउँछन् ।
पहिला कृष्णप्रसाद भट्टराई त्यसपछि खुमबहादुर खड्काको निकट रहेर काम गरेका पूर्णबहादुरले खुमबहादुरको मृत्यु भएपछि उनको गुटको नेता म हो भनेर बार्गेनिङ गर्दैै पद लिँदै गरेका थिए । सहमहामन्त्री र महामन्त्रीमा मनोनित हुँदा त्यही बलमा मनोनित भएको कांग्रेस नेताहरू बताउँछन् । त्यसपछि विस्तारै काम गरेर देउवाको निकट भएका उनले पहिलाका खुमबहादुर निकटका नेताहरूलाई वास्ता गर्न छाडेका थिए ।
खुमबहादुरको गुटमा रहेका पुष्पा भुसालबाहेक मोहनबहादुर बस्नेत, देवेन्द्रराज बण्डेल, शंकर भण्डारी, चन्द्र केसीलगायतले अहिले पूर्णबहादुरलाई नेता मान्दैनन् । देउवासँग पनि सम्बन्ध बिग्रिएपछि अहिले महामन्त्री विश्वप्रकाश शर्मालाई हातमा लिएर अगाडि बढ्ने तयारीमा रहेको निकटस्थ नेताहरू बताउँछन् ।
कार्यकर्ता संरक्षण गर्न नसक्ने खड्का उपसभापति भएपनि अहिले उनीसँग शर्माबाहेक सांसदद्वय रामहरि खतिवडा र कृष्ण रोकायमात्रै रहेको निकटस्थ स्रोतले बतायो ।
प्रतिक्रिया