कांग्रेस-एमालेले बजेट फेल गराउने तयारी गरेपछि सूचना टाँसेर स्थगित गरियो राष्ट्रिय सभा

कांग्रेस-एमालेले बजेट फेल गराउने तयारी गरेपछि सूचना टाँसेर स्थगित गरियो राष्ट्रिय सभा


काठमाण्डु – नेपाली कांग्रेस र नेकपा लेमालेका सांसदहरूले आर्थिक विधेयक २०८१ मा संशोधन प्रस्ताव दर्ता गरेपछि राष्ट्रिय सभा बैठक आइतबारसम्मका लागि सारिएको छ ।

आज दिउँसो सवा एक बजेका लागि बोलाइएको बैठक संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना टाँस गरेर आइतबार सवा एक बजे बस्नेगरी अध्यक्ष नारायण दाहालले स्थगित गरेको जनाएका छन् ।

राष्ट्रिय सभामा प्रस्तुत आर्थिक विधेयक २०८१ को दफा ३६ (६) मा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेको नेतृत्वमा सबै सांसदले संशोधन प्रस्ताव दर्ता गरेपछि बैठक सारिएको नेताहरूले बताएका छन् ।

संशोधन प्रस्ताव पारित भएमा संसदीय अभ्यासमा बजेट फेल भएको ठहरिन्छ । राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले राष्ट्रिय सभामा आर्थिक विधेयक संशोधन गर्न परेका प्रस्ताव पारित गर्ने सहमति कांग्रेस एमालेबीच भएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म बजेट फेल भएर सरकार असफल भएको उदाहरण छैन ।

आजको राष्ट्रिय सभा बैठकमा संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । र कांग्रेस एमालेका सांसदहरूले संशोधन प्रस्तावको पक्षमा मत राख्ने तयारी गरेका थिए ।

संविधानको धारा १११ अनुसार विधेयकमा राष्ट्रिय सभाले संशोधन गरेमा प्रतिनिधिसभामा पठाउने प्रावधान छ । प्रतिनिधिसभाले त्यो संशोधन स्वीकृत गरे त्यो संशोधन कानुन बन्छ ।

प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने तयारी गरेको अघिल्लो दिन राष्ट्रिय सभाले आर्थिक विधेयक संशोधन गरेमा अफ्ट्यारो पर्ने देखिएपछि बैठक स्थगित गरिएको हुन सक्ने एक नेताले जानकारी दिए । राष्ट्रिय सभा अध्यक्ष दाहाल माओवादीबाट उम्मेदवार भएर निर्वाचित भएका हुन् ।

एमाले प्रमुख सचेतक न्यौपानले दर्ता गरेको संशोधन प्रस्तावमा आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) लाई झिकी त्यसपछिका उपदफा क्रम मिलाउने भन्ने उल्लेख छ ।

यो दफा आयकर ऐनको दफा ५७ मा रहेको कुनै कम्पनीको ५० प्रतिशतभन्दा माथिको सेयर स्वामित्व किनबेच गरेको अवस्थामा नियन्त्रणमा परिवर्तन भएको मानी २५ प्रतिशत कर लगाउने व्यवस्था छ ।