कांग्रेस–एमालेको गोप्य सहमति कहिले सार्वजनिक हुन्छ ? महामन्त्री थापाको यस्तो खुलासा

कांग्रेस–एमालेको गोप्य सहमति कहिले सार्वजनिक हुन्छ ? महामन्त्री थापाको यस्तो खुलासा


काठमाण्डु – संसद्को ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई अगाडि बढाउने गरी भएको सहमतिको पूर्ण विवरण सार्वजनिक गरिएको छैन । लामो समयसम्म पनि सहमतिलाई गोप्य नै राखिएको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसँग भएको सहमति सार्वजनिक हुने खुलासा गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठन हुने प्रक्रियामा गइसकेपछि मात्रै कांग्रेस–एमालेबीच भएको सहमति सार्वजनिक हुने जानकारी दिए ।

पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाबारे जानकारी गराइसकिएको भन्दै महामन्त्री थापाले एमालेसँग भएको सहमतिको इमान्दारिताका साथ पालना हुने बताए । महामन्त्रीको रूपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने र महामन्त्रीकै रूपमा काम गर्ने पार्टी नेतृत्वलाई जानकारी गराएको उनले बताए ।

उनले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने भन्दै संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक रहने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको पुनरावलोकन गरिने उनले बताए ।