काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बन्ने केपी शर्मा ओली नेतृत्वको सरकारमा रोजेको मन्त्रालय नपाइने भएपछि महामन्त्री गगनकुमार थापा सरकारमा नजाने भएका छन् ।
महामन्त्री थापा सरकारमा नजाने भएपछि पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा जाने भएको छ । महामन्त्री थापाले चाहेको गृह वा अर्थ मन्त्रालय नपाउने भएपछि उनी सरकारमा नजाने निर्णयमा पुगेका छन् ।
गत महाधिवेशनमा सभापति चयनको दोस्रो चरणमा सभापति शेरबहादुर देउवालाई सघाएका सिंहलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ । सरकार गठनबारे देउवा र सिंहबीच भएको भेटवार्तापछि सरकारमा नेतृत्व गर्नेबारे टुंगो लगाएको स्रोतले जनाएको छ ।
सभापति देउवा निकट स्रोतका अनुसार सिंहको नेतृत्वमा कांग्रेसबाट रमेश लेखक गृहमन्त्री र आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्ने पक्कापक्की छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार विश्वासको मत लिने प्रस्ताव प्रतिनिधि सभामा राख्दैछन् । प्रचण्डले विश्वासको मत नपाएपछि कांग्रेस–एमालेले सरकार गठन प्रक्रिया अगाडि बढाउने भएका छन् ।
प्रतिक्रिया