काठमाण्डु-काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पा, चितवन, तनहुँ, गोरखा र नवलपुरमा ९० मिलिमिटरभन्दा धेरै पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ ।
नारायणी र मर्स्याङ्दी नदीले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै तनहुँको मर्स्याङ्दी नदी बिमलनगर जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले बन्दीपुरको बिमलनगरदेखि तल्लो नदी तटीय क्षेत्र आँबुखैरनीसम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ । नवपलपुर, रुपन्देही, पाल्पा र गोरखामा पनि ठूलो पानी परेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले शनिबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरेको छ । विभागका अनुसार देशको पूर्वी र मध्य भागका धेरैजसो जिल्लामा छोटो अवधिमा धेरै पानी पर्न सक्ने जोखिम छ ।
प्रतिक्रिया