काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्नेले आफूलाई नैतिकता सिकाएको व्यङ्ग्य गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै प्रधानमन्त्री दाहालले अल्पमतमा परेपछि संसद् विघटन गर्ने बानी परेकाले आफूलाई नैतिकता सिकाउनु उपयुक्त नहुने दाबी गरे ।
शुक्रबार प्रतिनिधिसभाबाट पाँचौपटक विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएकाले कमजोर बन्न नदिने बताए ।
‘साथीहरूको आपसि विश्वास कमजोर भएर हो कि षडयन्त्र आफैँ सधैँ कमजोर हुने भएर हो तर्सिरहनुभयो। आफू अल्पमतमा परेपछि संसद्नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गर्नुभयो,’ प्रचण्डले भने, ‘म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ। यसलाई माओवादीले कमजोर बनाउँदैन, बनाउन पनि दिइने छैन।’
उनले संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा बचाइएको र अब पनि बचाउन लागिपर्ने बताए । आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया