सुदूरपश्चिममा तीन दलले मागे मुख्यमन्त्रीको राजीनामा

सुदूरपश्चिममा तीन दलले मागे मुख्यमन्त्रीको राजीनामा


धनगढी-नयाँ गठबन्धनले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेका छन् ।

शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै एकीकृत समाजवादी संसदीय दलका नेता एवम् मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि राजीनामा दिएर सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेको दाबी गर्दै राजीनामा माग गरे ।

‘अल्मतमको सरकारले केही ठूला निर्णयहरू पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं,’ उनले भने ।

शाहले सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको बताउँदै दैनिक कामकाज बाहेक अन्य गर्न नपाइने उल्लेख गरे ।

यस्तै, नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोषी थापाले वर्तमान मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पास नहुने हुँदा तत्काल राजीनामा गर्न आग्रह गरिन् । उनले अब नयाँ गठबन्धनको सरकार बन्ने भन्दै अल्पमतमा परेको सरकारले राजीनामा दिनु पर्ने बताइन् ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले बिचौलियाले ल्याएको बजेट मान्य नहुने भन्दै वर्तमान सरकारले बजेटबारे छलफल नै नगरी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा गरेकोमा आपत्ति जनाए ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नयाँ गठबन्धन बनेपछि असार १ गते पेस भएको बजेटमाथिको छलफल हुन सकेको छैन ।

यसैबीच सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सहितको सर्वदलीय बैठक बोलाएका थिए । तर सो बैठकको छलफल पनि अगाडि बढ्न नसकेको हो । अन्योलमा रहेको बजेटबारे छलफल गर्न बोलाइएको बैठकमा कांग्रेस र एमालेले अल्पमतको सरकारले तत्काल मार्ग प्रशस्त गर्न माग गरेपछि छलफलले सार्थक नपाउँदै टुङ्गिएको थियो ।