ताप्लेजुङ- रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको कामकारबाहीप्रति पार्टी नेता, कार्यकर्ताले गरेको आलोचना नभएर कामको अपेक्षा भएको दाबी गरेका छन् ।
‘अब सरकारको आलोचना भन्दापछि काम जसरी हुनुपर्थ्यो नभइरहेको विषयमा साथीहरुले कुरा उठाउनु भएको थियो’, पाथीभरा मन्दिरको दर्शन गरी फर्किएपछि सदरमुकाम फुङलिङमा पत्रकारसँग कुरा गर्दै पोखरेलले भने, ‘उहाँहरुको चिन्ता जसरी अपेक्षा पूरा हुनुपर्थ्यो त्यो नभएकोमा ध्यानाकर्षण हो ।’
उनले अहिले लय र ताल नमिलेको होकि जस्तो देखिए पनि यसलाई मिलाएर अघि बढ्नपर्नेमा जोड दिए । सरकारको गियर परिवर्तन गर्नुपर्ने नभएर विगतमा भएको निर्वाचित प्रतिनिधिको लामो रित्तताको असरले काममा कीहि ढिला भएजस्तो देखिएको उनले दाबी गरे ।
कानुन निर्माणको काम केपी ओली नेतृत्वको सरकारपछि मात्रै सुरु भएको भन्दै उनले मंसिर बित्दा–नबिक्तै हिउँदे अधिवेशन बोलाएर बाँकी रहेका कानुनलाई पूर्णता दिनुपर्ने बताए । ‘धेरै कानुन निर्माणका लागि फ्रेमभित्र हालिएका छन, तिनलाई मसिंर बित्दानबित्दै हिउँदे अधिवेशन बोलाएर पूर्णता दिनुपर्छ,’ पोख्रेलले भने, ‘अब यसलाई ढिला नगरीकन अगाडि बढाउनु पर्छ । ’
पार्टी भनेको टुपीमात्रै नभएर तल्लो तहसम्म मिलाउनुपर्ने र त्यो मध्य मंसिरसम्ममा पूरा हुने पोख्रेलले बताए । ‘प्रदेश र जिल्ला तहमा आधाउधि मंसिरमा सक्छौं र जनवर्गीय संगठन एकताको काम पनि अघि बढ्छ’ उनले भने । एकीकरणमा भएको ढिलाईले पार्टीमा असर र प्रभाव स्वभावैले परेको उनले बताए ।
प्रतिक्रिया