काठमाण्डु – २८ असारमा शुक्रबार तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा उनको विपक्षमा र वर्तमान नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका पक्षमा देखिएका ४ राजनीतिक पार्टी केपी शर्माओली नेतृत्वको सरकारमा सहभागी भएका छैनन् ।
सोमबार प्रधानमन्त्री पदको पद तथा गोपनियताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइन्छ । तर, प्रधानमन्त्रीसहित २२ मन्त्री र ३ राज्यमन्त्री ।
हिँजो मन्त्रिपरिषद् विस्तारमा सबै मन्त्री बनाइएकाले अब थप्ने ३ राज्यमन्त्रीमा सरकारमा सहभागी नभएका दल सहभागी हुने सम्भावना छैन । किनकि अहिले सरकारमा सहभागी भएका कांग्रेस–एमाले बाहेकका दलको हैसियतमा भएका दलहरू राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने सम्भावना देखिन्न ।
ओली नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (१४), जनमत पार्टी (६), जनता समाजवादी पार्टी, नेपाल (५) तथा नागरिक उन्मुक्ति पार्टी (४) सरकारमा नगएका हुन् ।
सरकारमा नगएको र समर्थन गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारमा नजाने समर्थन गर्ने जानकारी दिए । उनले भने, ‘राप्रपा सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’
सरकारमा नगएको दल जनमत पार्टीले आफूले मधेस सरकारलाई प्राथमिकता दिएकाले संघीय सरकारमा सहभागी नभएको बताएको छ । सत्ता गठबन्धन दलले जनमत पार्टीकै चाहनाअनुसार मधेस प्रदेश सरकारको नेतृत्व दिएर संघीय सरकारमा भाग नदिएको नेताहरू बताउँछन् । जनमतले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन भने गर्नेछ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष दीपक साहले पूरै कार्यकाल मधेस सरकारको नेतृत्व गर्न पाए संघीय सरकारमा सहभागी नहुने र सरकारलाई समर्थन गर्ने बताए ।
माओवादी–एमाले गठबन्धन बन्दा मधेस प्रदेशमा जसपा नेपाललाई विस्थापित गरेर जनमतलाई दिइएको सरकारको नेतृत्वलाई असार १७ मा मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिँदा कांग्रेस–एमालेले मतदान गरेर जोगाइदिएका थिए ।
गठबन्धनलाई समर्थन गरेको अर्को पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा नजाने तर बाहिरबाट समर्थन गर्ने जानकारी दिए । अहिले बाहिरबाट समर्थन गर्ने र सरकारको कार्यशैली र व्यवहारको आधारमा थप निर्णय लिने यादवले बताए । नेताहरूले जसपा नेपाललाई कांग्रेस नेतृत्वमा गठन हुने सरकारमा सहभागी गराउने सहमति रहेको बताउँछन् ।
नागरिक उन्मुक्ति पार्टीभित्रै विवाद भएकाले विवाद मिलेपछि छलफल गर्ने भनिएको कांग्रेसका एक नेताले जानकारी दिए । नागरिक उन्मुक्तिमा अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेता रेशमलाल चौधरीबीच विवाद छ ।
निवर्तमान प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस र एमालेको समर्थनमा ओली प्रधानमन्त्री भएका हुन् । गठबन्धनलाई यी दलले पनि समर्थन गरेका छन् ।
प्रतिक्रिया