काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानेपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्त्वपूर्ण सहयोगका लागि एडीबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले पुर्याएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मतसम्भार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै उनले यांग्री र लार्केको पानी समेत काठमाण्डुमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताए ।
एडीबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको सम्भावनाबारे छलफल भएको थियो ।
प्रतिक्रिया