काठमाण्डु – नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टीम भएर अगाडि बढ्न तयार रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष समेत रहेका खेलकुद मन्त्री चौधरीले उनको सम्मानमा बिहीबार आयोजित स्वागत तथा बधाइ कार्यक्रममा भने, ‘म मन्त्री भएको केही दिन मात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालासँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु ।’
मन्त्री चौधरीले खेलकुदलाई विकासको बाटोमा डोर्याउन सरोकारवालासँगै अगाडि बढ्न तयार रहेको बताए । उनले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने भनी गरेको निर्णयका सम्बन्धमा सदस्य सचिवसँग छलफल भइरहेको बताए ।
मन्त्री चौधरीले १०औं राष्ट्रिय खेलकुद लगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघर्ष गर्न सक्ने भएको बताउँदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री चौधरीको लक्ष्यलाई पूरा गर्न राखेप टीम सहयात्री बनेर काम गर्न तयार रहेको बताए । उनले राखेपका योजनाहरूलाई कार्यान्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताउँदै आफ्नो कार्यकालको अन्तिम दिन साउन १४ गतेसम्ममा मन्त्रीसँग बोर्ड बैठकमा सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन् ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेलकुदलाई गहिरिएर बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
सदस्य सचिव घिसिङले पेरिस ओलम्पिकसँगै १०औं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको बताए । बिहीबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य सचिव घिसिङले खेलकुद मन्त्री चौधरीलाई राखेपको कार्ययोजनाहरू विस्तृत रूपमा पनि प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया