मधेश सरकारमा नियुक्त ५ मन्त्रीद्वारा शपथ ग्रहण

मधेश सरकारमा नियुक्त ५ मन्त्रीद्वारा शपथ ग्रहण


जनकपुरधाम – मधेश प्रदेशमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कांग्रेसको तर्फबाट नवनियुक्त अर्थमन्त्री सुनिलकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय तथा लोसपाको तर्फबाट शिक्षा तथा संस्कृती मन्त्रीमा नियुक्त रानी शर्मा तिवारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेश भवनमा आयोजित समारोहबीच प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ गराएकी छन् ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह जनमत पार्टीका हुन् । उनले अर्थ मन्त्रालय आफैं राख्ने अडान लिएपछि कांग्रेसले सरकारमा सहभागी नहुने भनेको थियो । केन्द्रीय गठबन्धनले कांग्रेसलाई अर्थ मन्त्रालय दिने निर्णय गरेसँगै कांग्रेस र लोसपा सरकारमा सहभागी भएका छन् ।

लोसपाले २ मन्त्रालय मागे पनि १ मन्त्रालय मात्रै पाएको छ । मधेशमा बिहीबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनसँगै सरकार पूर्णता पाएको छ ।