रौतहट-रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृंखल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो ।
केही युवाहरू उच्छृंखल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो । जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन् ।
दाहा मनाउने क्रममा करिब पाँच हजारभन्दा बढी मुस्लिम समुदायका मानिसको उपस्थिति थियो । स्थिति नियन्त्रणमा लिन १२० प्रहरी टोली खटिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । त्तपश्चात् स्थितिलाई नियन्त्रण आएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ साढे छ बजेदेखि करिब आठ बजेसम्म कुडियाको स्थिति तनावग्रस्त रह्यो ।
नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए । ढुंगा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
केही सुरक्षाकर्मीको आँखा तल घाउ लागेको र अन्यलाई सामान्य चोट लागेको प्रहरीको भनाइ छ । घाइते सबै प्रहरीको सामान्य उपचारपछि कार्यालय पठाइएको छ । प्रहरीका अनुसार हाल स्थिति सामान्य रहेको छ ।
प्रतिक्रिया