सूर्यदर्शन सहकारीको साढे पाँच करोडको प्रमाण भेटियो, थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सूर्यदर्शन सहकारीको साढे पाँच करोडको प्रमाण भेटियो, थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाण्डु-सहकारी बचत रकम हिनामिनाको छानविनका लागि बनेको संसदीय विशेष समितिले पोखराको सूर्य दर्शन सहकारीबाट गोर्खा मिडियामा साढे पाँच करोडभन्दा बढी रकम गएको प्रमाण भेटिएको छ ।

संसदीय विशेष समितिका सभापति सूर्यबहादुर थापाले गोर्खा मिडियामा गएको रकम चार करोड ८८ लाख ९ हजार दुई सय ७१ रुपैयाँको प्रमाण भेटिएको जानकारी दिए ।

अर्को २० लाख र ५० लाखमध्ये गोर्खा मिडियामा सिधै २० लाख र जीबी गुरुङ अफ कम्पनीमा गएको ५० लाख गरेर झण्डै साढे पाँच करोड सूर्यदर्शन सहकारीबाट गएको देखिएको उनले भने ।

थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सूर्यदर्शनको ठगी प्रकरणमा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यससंगै प्रतिवादीको संख्या ४४ पुगेको छ ।

२०७२ सालअघिका सहकारीका पूर्वसञ्चालक समितिका २५ जना पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसअघि ०७२ पछिका १९ जना पदाधिकारीलाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा अघि बढाएको थियो । त्यसमध्ये ५ जना मात्रै पक्राउ परेका थिए ।

सहकारी पीडितले अघिल्लो प्रतिवेदन अपुरो भएको भन्दै २०८० माघ २२ मा दोस्रोपल्ट उजुरी दिएका थिए । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४ व्यक्ति र १४ कम्पनीविरुद्ध छानबिनको माग गर्दै पीडितले उजुरी दिएका हुन् ।

२०८० साउन २२ मा सहकारीपीडितले सञ्चालक समितिका ६ र सहकारी ठगीका मुख्य योजनाकार पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।

साउन २४ मा राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । असोज १८ मा जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो ।

हाल सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भविश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् ।

१८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ सहकारीमा बचत थियो । जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै चलाएको मुद्दा अदालतमा विचाराधिन छ ।