कांग्रेस नेता गुरुराजले सम्झिए बीपीलाई, ‘हलो जोतेको तस्वीर राखेर योजना बनाउनुहोस्’

कांग्रेस नेता गुरुराजले सम्झिए बीपीलाई, ‘हलो जोतेको तस्वीर राखेर योजना बनाउनुहोस्’


चितवन – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बीपी कोइरालाको पालामा गरीब, दुःखी जनतालाई हेरेर कार्यक्रम लक्षित हुने गरेको स्मरण गराउँदै पछिल्लो राजनीतिक परिपाटीमा त्यो हराएको बताएका छन् ।

मुलुकको विकासको विरोधी गरीबी रहेको बताउँदै उनले बीपीले गरेका कामको निरन्तरता नहुँदा मुलुकको विकास पछाडि परेको दाबी गरे । बीपी कोइरालाले योजना आयोगका सदस्यलाई भित्तामा हलो जोतेको किसानको तस्वीर राखेर योजना बनाउन गरेको आग्रहलाई प्रस्ट पारेका थिए ।

नेपाल टेलिकम वर्कर्स युनियन भरतपुरको ६२औं स्थापना दिवस एवं ४२औं बीपी स्मृति दिवसको अवसर पारेर गरिएको कार्यक्रममा नेता घिमिरेले समाज सेवाको बाटोमा लाग्न नेतालाई आग्रह गरे । ‘योजना बनाउँदा बीपीले योजना आयोगका सदस्यलाई भन्नुभएको थियो कि भित्तामा हलो जोतेको किसानको फोटो राख्नुस् र त्यसैलाई हेरेर योजना बनाउनुहोस्,’ उनले भने, ‘त्यो किन भन्नुभएको हो भने एउटा शहरले भरिएको अर्को गाउँले भरिएको नेपाल छ । गाउँलेको दुःख हेरेर योजना बनाउनुहोस् भन्नुभएको हो । देशको अनुहार बदल्न हामीले कमजोरीलाई हेरेर काम गर्नपर्छ ।’

पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले उनको कार्यकालमा गरीब जनतालाई केन्द्रित गरेर योजना बनाउन लगाउँथे । स्थापना दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कर्स युनियनको ६२औं स्थापना दिवस र ४२औं बीपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असहाय बालबालिकालाई भोजनको व्यवस्था गरेको हो ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । युनियनका अध्यक्ष सुरेश अधिकारले विगतमा पनि सामाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए ।