काठमाण्डु-नेपालस्थित भारतीय दूतावासले आषाढ पूर्णिमा मनाएको छ । कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
भगवान बुद्धले आफ्नो पहिलो ५ चेलाहरुलाई उपदेश दिएको दिनको सम्झनामा आषाढ पूर्णिमा मनाइने गरिएको नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बताए । ‘भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमा हो । बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले हामीलाई ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि चिन्ने गरिन्छ’। श्रीवास्तवले भने ।
कार्यक्रममा उपस्थित भएर थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । तत्पश्चात बौद्ध सत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो ।
उप–प्रमुख श्रीवास्तवले भगवान् बुद्धले दिएका शिक्षाको महत्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्धस्थलले दुवै देशबीचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताए ।
उनले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको जनाए ।
प्रतिक्रिया