कर्णाली प्रदेश सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

कर्णाली प्रदेश सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा


सुर्खेत – नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

माओवादीका मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेलालाई राजीनामा पत्र बुझाएका छन्। मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाएका हुन्।

केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिएको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।

यो सँगै कर्णालीमा पहिलोपटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको छ । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षदेखि सरकारमा थियो ।

एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही सहभागी थिए ।

मन्त्रीको राजीनामासँगै माओवादी संसदीय दलले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने जनाएको छ ।

४० सदस्यीय प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) र कांग्रेसका १५ सांसद छन् । सरकार बनाउन आवश्यक पर्ने २१ सांसद दुई दलका छन् । दुई दलका सांसदको संख्या जोड्दा २४ पुग्छ ।