काठमाण्डु – नेकपा एमालले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पार्टीका प्रदेशका संसदीय दलका नेता लिला गिरीलाई नबनाइ उपनेता चेतनारायण आचार्यलाई अघि सार्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको निर्देशनमा लुम्बिनीको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता आचार्यलाई अघि सारिएको हो ।
संसदीय दलका नेता गिरीले नै पार्टी केन्द्रले आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको भन्दै आफू यो पटक मुख्यमन्त्री नबन्ने जानकारी दिए । ‘पार्टी केन्द्रले पालो पुर्याउन यो पटक आचार्यलाई मुख्यमन्त्री बनाउने भन्यो,’ गिरीले छोटो प्रतिक्रिया दिँदै भने ।
एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले उपनेता आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गर्ने जानकारी दिए । ‘सुरुमा मुख्यमन्त्रीमा गिरीले दाबी पेस गर्ने तयारी थियो । तर, केन्द्रको निर्देशनानुसार अब चेतनारायण आचार्यले मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुन्छ,’ चौधरीले भने ।
चौधरीले दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा आचार्यले दाबी पेस गर्ने जानकारी दिए । आचार्य जोखबहादुर महरा मुख्यमन्त्री हुँदा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।
आइतबार प्रदेशसभा बैठकमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साँझ ६ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् ।
एमाले संसदीय दलका नेता गिरी उपाध्यक्ष तथा वर्तमान संघ सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलनिकट र मुख्यमन्त्री बन्न लागेका आचार्य महासचिव पोखरेल निकट मानिन्छिन् । निकटस्थ स्रोतका अनुसार महासचिव पोखरेलको दबाबमा आचार्यलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।
प्रतिक्रिया