अध्यागमन मुलुकको अनुहार होः गृहमन्त्री

अध्यागमन मुलुकको अनुहार होः गृहमन्त्री


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् । मंगलबार बिहान अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताए ।

‘तपाईहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,’ उनले भने, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस् ।’ देशभन्दा बाहिर जाने मानिसकहरुलाई पनि बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । ‘अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु प¥यो,’ उनले भने, ‘गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखि कारबाही गरे हुन्छ ।’

पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए । ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,’ उनले भने, ‘अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।’

गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धि विधयेक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रहसमेत गरे । राम्रो कानुन बनाएर कानुन बमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनले बताए । ‘संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधिी ल्याउनुस्,’ उनले भने, ‘कानुन निर्माणको विषय मेरो धेरै बढी चाँसो, रुची र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ ।’

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखेको गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिए ।

त्यसैगरी कोरोनापछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरुलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकरात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो । सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औल्याए ।