पूर्व मन्त्री महतोले घुस दिएको घटनामा छानबिन गर्न शिक्षा मन्त्रालयद्वारा समिति गठन

पूर्व मन्त्री महतोले घुस दिएको घटनामा छानबिन गर्न शिक्षा मन्त्रालयद्वारा समिति गठन


काठमाण्डु – पूर्व मन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घुस दिएको घटनामा छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको सहसचिव एवं प्रवक्ता केशवप्रसाद दाहालले बताए ।

मन्त्री महतोले छोराको समकक्षता प्रमाणपत्र लिँदा ५ हजार घुस बुझाएको भन्दै सोमबारको प्रतिनिधिसभा बैठकमा बताएका थिए ।

त्यस विषयमा शिक्षा मन्त्रालयले समिति बनाएर ७ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्न भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा एक गरिएको काम कारबाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गर्न ७ दिनको सुझाव सहितको प्रतिवेदन पेश गर्न शिक्षा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको ।’