पेरिस ओलम्पिकमा कसले बोक्दैछन् नेपालको झण्डा ?

पेरिस ओलम्पिकमा कसले बोक्दैछन् नेपालको झण्डा ?


काठमाण्डु-फ्रान्सको पेरिसमा हुने ३३औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झन्डा टेबल टेनिसका खेलाडी स्यान्टु श्रेष्ठ र जुडो खेलकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन् । साउन ११ देखि २७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुन लागेका हुन् । पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीको सहभागिता छ । जसमा स्यान्टु र मनितासहित ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ रहेका छन् । सन्तोषीबाहेक अरू खेलाडी र प्रशिक्षक पेरिस पुगिसकेका छन् ।

सुटिङमा प्रदीप खाती, टेबल टेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । ब्याडमिन्टनका प्रिन्स भने प्रशिक्षकविना खेल्नुपर्ने भएको छ । एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने भएकाले त्यसमा सहभागी हुने खेलाडी सन्तोषी आउँदो साउन १५ गते पेरिस प्रस्थान गर्ने तय भएको छ ।