बिआरआई परियोजना विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान सकिन्‍न : परराष्ट्रमन्त्री

बिआरआई परियोजना विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान सकिन्‍न : परराष्ट्रमन्त्री

फाइल तस्बिर

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छिन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री राणाले बीआरआई परियोजना कार्यान्वयनबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई परियोजना अघि बढाउन व्यापक छलफलमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आफ्नो विश्वास रहेको पनि राणाले बताइन् ।

मन्त्री राणाले बीआरआई परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्नेबारे सरकारभित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षसँग पनि विस्तृत छलफल गर्न बाँकी रहेको बताइन् । एमसीसी संसद्मा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेका सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको बताइन् ।

उनले नेपालले परराष्ट्र नीति निर्माण तथा कार्यान्वयन गर्दा नेपालको राष्ट्रियता, नेपालको हित र नेपाली नागरिकलाई केन्द्रमा राखेर बनाइने स्पष्ट गर्दै नेपालमा निर्माण हुने वैदेशिक सहायताका परियोजनाहरुमा पनि यो पक्षलाई राम्रोसँग ध्यान दिइने बताइन् । सांसदहरुको जिज्ञासामा मन्त्री राणाले नेपालको परराष्ट्र नीति पञ्चशीलका सिद्धान्तका मूल्या मान्यता एवं असंलग्नतामा आधारित नै हुने उल्लेख गरिन् ।